नेवारलाई कोदे ,मगरलाई लिंडे , बाहुनलाई काठा, हिमाली भेगका तामाङ्ग- गुरुङ्ग लाई भोटे भने झैं पहाडे मुशलमानहरुलाई "चुरेटा" भन्ने प्रचलन छ । "चुरेटा" शब्द अहिले मुशलमानहरुको लागि अप्रीय लाग्छ तर यो शब्द बाट पहाडे मुशलमानहरुले खासमा लज्जा होइन कि गर्व गर्न पर्ने हो । प्रथमत : त पहाडे मुशलमानको एउटा ठूलो समुदाय गाउँगाउँमा डोकोमा चुरा बेच्दै हिंड्ने भएकोले चुरेटा भनिएको हो । भोट बाट आएकालाई भोटे , कोदो बेच्ने - कोदोको रक्सी बनाउने र खानेलाई कोदे भने झैं चुरा बेच्नेलाई चुरेटा भन्नू खासमा अपमान मान्नुपर्ने होइन आखिर व्यवसायिक पहिचान झल्काउने शब्द हो तर होच्याउने भावमा प्रयोग हुने भएकोले मुश्लिम समुदायले चुरेटा शब्द अप्रीय मानेका होलान त्यसो त कोदे , लिंडे , भोटे , काठा जस्ता शब्द पनि होच्याउने , जिस्काउने भावमा नै प्रयोग गरिने शब्द हुन। । मुशलमानहरुले चुरा बेच्दै किन हिंडे त ? यसमा व्यवसायिक प्रयोजन मात्र थियो कि अन्य प्रयोजन पनि थियो ?
पहाडका मुशलमानहरुको प्राचीन थलो हेर्ने हो भने साना-साना राज्यका दरबार आसपास देखिन्छ जस्तो : गोरखाको दरबार आसपास , स्याङ्जाको रजस्थल वारि गहते , स्याङ्जा कै नुवाकोट तल इद्रेस इत्यादी । पुराना राजाहरुले मुशलमानहरुलाई बारुद बन्दुक बनाउन प्रयोग गर्थे त्यसैले पनि मुश्लिम बस्ती दरबारको आसपास भएको हो । अर्को महत्वपूर्ण र रोचक तथ्य के हो भने त्यो बेला आजको जस्तो आधुनिक सूचना प्रणाली थिएन , सडक र आधुनिक सवारी साधन थिएन अनि राजाहरुले गुप्तचरी सूचना लिनको लागि समेत आजको जस्तो आधुनिक प्रविधी थिएन । त्यो बेला साना राज्यहरु बिच एक अर्काको राज्य हडप्ने होडबाजी चलिरहन्थ्यो , कुन राज्यले कहिले कुन राज्यमा आक्रमण गर्छ भन्ने ठेगान हुन्थेन , आफ्नो राज्य जोगाउन वा अर्को राज्य माथी हमला गर्न सबैभन्दा प्रभावकारी र अनिवार्य माध्यम गुप्तचरी सूचना हुन्थ्यो । तत्कालिन टुक्रे राजाहरुले जोगि - सन्यासी , गाइने र मुशलमानहरुलाई गुप्तचरिको रुपमा प्रयोग गर्थे । जोगिले भिक्षा माग्दै गाउँ गाउँ डुलेर सूचना संकलन गरेर राजालाई सूचना दिन्थे , गाइनेले गाउँ गाउँमा विरहको गीत गाउँदै हिंड्ने , खुसुक्क केही सोध्ने र सूचना लिएर राजालाई सूचना पुर्याउँथे । मुशलमानहरुलाई बारुद , बन्दुक , अन्य हतियार बनाउन लगाउनुको अलावा व्यापारको नाममा चुरा-पोते नै बेच्न किन लगाइयो त ? अन्य चीज बेच्न लगाए पनि हुन्थ्यो , मुल चुरो कुरो के हो भने हाम्रो समाजमा पहिले देखि नै स्त्री जातिको रुद्र घन्टी हुँदैन , रुद्रघन्टी नभएकोले स्त्रीले कुनै कुरा पनि लामो समय गोप्य राख्न सक्दैन , कहिं न कहिं फुत्काईहाल्छ भन्ने धारणा थियो र छ । त्यसैले स्त्री जातिलाई नै ताकेर उनिहरुले प्रयोग गर्ने सामाग्रीहरु चुरा , पोते इत्यादी सामाग्री बेच्दै हिंडन लगाएर स्त्री जाती बाट गोप्य कुरा फुत्काएर सूचना लिन्थे त्यो बेलाका राजाहरुले । चुरेटाहरु चुरा , पोते बोकेर गाउँ गाउँ डुल्थे , स्त्रीहरुको जमघट हुने पधेंरा , पर्म इत्यादिमा पुग्थे , चुरा लगाईदिंदै गर्दा चुरेटाले स्त्रीहरुलाई गाउँघरमा भएका घटना बारे खुसुक्क सोध्थे , स्त्रीले चिलचिलाएको मुखलाई सान्तवना दिने अवशर किन छोड्थे र ! केही न केही सूचना चुहाइहाल्थे र यो सूचना राजा कहाँ पुग्थ्यो । सानो, गरिब र कमजोर राज्य भएर पनि गोरखा राज्य अफ्नो राज्य शत्रु बाट जोगाउँदै राज्य विस्तारमा सफल हुनु र न्याय नपाए गोरखा जानू भन्ने थेगो जनजनको जनजिब्रोमा झुन्डाउन सफल हुनुमा जोगि , गाइने र चुरेटाहरुको माध्ययमले प्रभावकारी रुपले सूचना संकलन गर्न सक्नु थियो। जस्तो : गोरखा राज्य भित्र कुनै हत्या , आत्महत्या वा अन्य घटना भएमा राजाले जोगि , गाइने , चुरेटा लाई जासुसिको लागि खटाइहाल्थे , ती जासुस बाट राजाले घटनाको सत्यतथ्य विवरण थाहा पाइहाल्थे । राजाले दरबारिया , भारदार र मुद्धाका पक्ष वा विपक्षिको दाबी - दलिललाई मात्र आधार बनाएर फैसला गर्दैनथे । राजाले घटनाको सुनुवाई गर्ने क्रममा यिनै जासुसको सहि सूचनालाई आधार बनाएर फैसला गर्थे त्यसैले अपराधी चोखिने र निर्दोष फँस्ने सम्भावना हुँदैनथ्यो । राजा महेन्द्रले समेत जासुसी प्रयोजनको लागि जोगि , गाइने र चुरेटाहरुको उपयोग गर्थे , राजा महेन्द्र समेत सहि सूचना लिन छद्मभेष धारण गरेर हिंड्थे ।
प्रभावकारी जासुसिको अदभूत संजाल त अझ पृथ्वीनारायण शाहले बसालेका थिए । जासुसहरुको मात्र भर नपरेर उनी आफै छ्द्मभेष धारण गरेर गाउँ-गाउँ डुल्थे । उनको जासूसी संयत्र कतिसम्म प्रभावशाली थियो भने उपत्यकाको पादरिहरु अति गोप्य रुपमा अंग्रेज अधिकारिलाई पठाएका सूचना , पत्र तत्काल हात पार्थे , प्रभावकारी जासुसिको कारण नै पृथ्वीनारायणले मकवानपुरगढिमा मिर कासिमको फौज र सिन्धुलिगढिको युद्धमा अंग्रेज फौजलाई धुलिसात बनाएको थियो।
एकपटक पृथ्वीनारायण शाह हलि-खेतलाको छद्मभेष धारण गरेर स्याखु ओढेर धादिङ्गको जीवनपुर भन्ने ठाउँमा आइपुगेछन । रात परेपछी एउटा घरमा बास माग्न पुगेछन , घरमा एकजना बुढिमाउँ थिईन , असार - साउनको वर्षाको बेला थियो , पानी परिरहेकै थियो , चिसो चिसो थियो , बुढिमाउँले मकै भुटिन , अगेनामा आगो बालिन र पृथ्वीनारायण लाई अगेनामा आगो ताप्न बोलाइन । पृथ्वीनारायणले आगो ताप्दै भुटेको मकै र मोहि खाँदै बुढिमाऊलाई धेरै कुरा सोध्दै गए । बुढिमाऊको जवाफ अनुसार उनका पति गोरखा सेनाको सिपाही रहेछन ,गोरखा सँग नुवाकोटको युद्धमा मारिएका रहेछन र एउटा छोरा रहेछ १५-१६ वर्षको । पृथ्वीनारायणले बुढी सँग निरिखुरु सोध्ने क्रममा छोराको बारे अनि छोराको भविष्य बारे सोधेछन । बुढिमाउले बेलिबिस्तार लगाईन : "यसको बाउ पृथ्वीनारायण शाहको सेनामा भर्ती भएर विरगती प्राप्त गरे , अब यसलाई पनि उमेर पुगेपछी पृथ्वीनारायणकै सेनामा भर्ती गराएर देशको सेवामा लगाउने हो ।"
पृथ्वीनारायण शाहले बुढिमाऊको मन चोर्न भनेछन : "अहो आमै ....! तपाईको पतिले पृथ्वीनारायणको सेनामा भर्ती भएर पृथ्वीनारायणको पछि लागेर नुवाकोट हान्न जाँदा बिना फँक्कैमा ज्यान गुमाएछन । पृथ्वीनारायण त राजा भए , राज्य जित्दै गएर ठूलो राजा हुँदै गए , नाम चलाएका छन , किर्ती पाएका छन तर तपाइको पतिले ज्यान गुमाएर के पाए ? तपाइले के पाउनुभयो ? अब फेरि छोरालाई पनि पृथ्वीनारायणको सेनामा भर्ती गराएर छोरा पनि मराउँदै हुनुहुन्छ ? अब फेरि छोरा गुमाएर के पाउनुहुन्छ ? छोराले के पाउँछ ? रिसानी माफ होस आमै ! मलाई त आमैको कुरा चित्त बुझेन र बुद्धिमानी पनि लागेन ! मेरो कुरा मान्नुहुन्छ भने बुद्धि भए त्यो पृथ्वी - सिर्थिवीको सेनामा छोरालाई भर्ती-सर्ती नगराउनोस , बिना फँक्कैमा छोराको ज्यान जाने बुद्धि नलिनोस !"
पृथ्वीनारायण ले यत्ती के भनेका थिए : बुढिमाउले रन्किदैं बलिरहेको अगुल्टो झिकेर पृथ्वीनारायण लाई ताक्दै भनिन : "तँलाई सैंदुवा ! रातको पाउना देउता भनेर वास दिएँ , मकै भुटेर खान दिएँ , पाहुनालाई चिसो लाग्ला भनेर आगो बाल्दिएँ , खाना ख्वाँए .... ह्वाँ मुगलानको राजा (अग्रेज) साना साना देश खाँदै नाकै मुनि आएको छ रे ..... कुन दिन हाम्रो देश पनि खान आउँछ .... देश जोगाउन हामी सबैले हाम्रा राजा पृथ्वीनारायण लाई साथ दिन पर्छ , राजा मात्रै लडेर देश जोगिने हो र ! हामी सबै राजा सँगै लड्न पर्छ अनि बल्ल देश जोगिन्छ .... ! देशलाई खतरा भएको बेला भड्काउन आउँछस ! तँलाई देशघाती ! पख त तँ सैंदुवालाई ! आज तँ देशघातिलाई ठिक पार्छु .... !
बुढिमाउले कड्किंदै यत्ती भनेर पृथ्वीनारायण शाहलाई अगुल्टोले झटारो हान्न थालेछिन , पृथ्वीनारायण स्याखु , टोपि त्यहिं छोडेर , बुढी माउले पस्कि सकेको भात पनि छोडेर राती नै त्यहाँ बाट कुलेलम ठोकेछन ।
पृथ्वीनारायण रातारात हिंडेर गोरखा दरबार पुगेछन । भोलिपल्ट उनले आफ्ना केही भारदार र सेनालाई ती बुढिमाऊलाई लिएर आउन आदेश दिए , भारदार र सेना बुढिमाऊको घर पुगेपछी बुढी डराइन , गाउँलेहरुले कुरा काट्न थाले , "बुढिमाउले हिजो एकजनालाई अगुल्टोले हानेर लखेटिन , ठूलै मान्छे रहेछ क्यारे फेलामा परिन अब बुढी !
भारदारहरुले बुढिमाऊलाई गोरखा पुर्याए , पृथ्वीनारायणले भारदारी सभाको आयोजना गरे , बुढिमाऊलाई भारदारी सभामा बसालियो , पृथ्वीनारायण शाह भारदारी सभामा प्रवेश गरेपछी बुढी त्रसित पनि भईन , अचम्मित पनि भईन ; अस्ति आफुले अगुल्टोले हानेर धन्नै ज्यान नलिएको ठिटो त आफ्नै देशको राजा पृथ्वीनारायण पो रहेछ ! बुढीले २ हात जोडेर रुँदै विलौना गरिन र भनिन : "सरकार ! मैले केही गल्ती गरेको छैन , गल्ति वा भूल भए माफ पाऊँ ! पृथ्वीनारायणले बुढिमाऊलाई अँगालो हाल्दै रुन थाले , अस्ति रातिको घटना बारे पृथ्वीनारायण शाह र बुढिमाऊ बाहेक कसैलाई थाहा थिएन त्यसैले के हुँदैछ भन्ने कुरा भारदारहरुलाई पत्तो भएन र सबैजना अचम्मित थिए। बुढिमाऊले मेरो केही गल्ती छैन भनेर पृथ्वीनारायण समक्ष विन्ति गरेपछी पृथ्वीनारायण ले भने : "आमा ! हजुरको केही गल्ती नभएकोले नै हजुरलाई यहाँ बोलाइएको हो ", पृथ्वीनारायण शाहले बुढिआमाको खुट्टा ढोगेर भने : हजुर हामी सबैको आमा हो , हजुर देशकै आमा हो ! यत्ती भनेर पृथ्वीनारायण शाह झन रुन थाले , बुढी आमै पनि रोइन , भारदारी सभाको माहौल यस्तो भयो कि सबै भारदार रुन थाले । त्यही भरदारी सभामा पृथ्वीनारायण नारायणले बुढी आमैलाई "गोरखालि आमा" अर्थात "यो गोरखा राज्यका राजा , राजपरिवार र सबै प्रजाको आमा "को उपाधी दिए ।
पृथ्वीनारायण शाहले भारदारी सभामा घोषणा गरे : "यी आमाको मुहार मुर्झायो भने गोरखा राज्य मुर्झाउन्या छ , त्यसैले यी आमाको मुहार कहिल्यै ओइलाउन नदिनु , यी आमालाई सधैं हँसिलो राख्नु ।"
पृथ्वीनारायण शाहले आमैको दुख:सुख सोधेर , के के समस्या छन सोधे र सबै समस्या हल गरिदिन भारदारहरुलाई आदेश दिए , बुढी आमैको छोरा गोरखा सिपाहिमा भर्ती हुने उमेर नपुगुन्जेल निवृत्ती भत्ता र अन्य खर्चको व्यवस्था गरिदिए ।
नोट :
- यी बुढिमाऊ सूचिकार (दमाई जात कि थिइन )
- पृथ्वीनारायण ले यी आमैलाई विर्ताको व्यवस्था गरेर गोरखा दरवारको नजिकै राख्ने चाँजोपाँजो मिलाए र तिनी आजिवन गोरखा मै बसिन ।
- ति अपठित आमैले पृथ्वीनारायणको नाम पनि राम्ररी भन्न जान्दैनथिईन , उनले "पृथ्वी" लाई "पिल्तिवी" उच्चारण गर्थिन ।
- माथिको हरफहरुले के कुराको पुष्टि गर्छ भने राष्ट्र एकीकरण अकारण भएको होइन , जोगि - सन्यासी - चुरेटा मुशलमान - गरिब दमाई - दमिनी - विसे नगर्ची जस्ता गरिव दलित सम्मले राज्य एकीकरणको लागी आ-आफ्नो भूमिका दिलोज्यानले निभाएका थिए, जय प्रकाश मल्लले अंग्रेज सेनालाई उपत्यका निम्ताए पछि ती अंग्रेज सेनालाई पारिश्रमिकको रुपमा पशुपतिको ढुकुटी बाट सुनको असर्फी झिकेर सुनको असर्फि र आफ्नै सिपाहिहरुलाई चाहिँ चाँदिको सिक्का दिए पछि जय प्रकाश मल्लको सेनाले विभेदको महशुस गरेर जय प्रकाश विरुद्ध विद्रोह गरेर पृथ्वीनारायणको साथ दिएका थिए , जय प्रकाश मल्लले लिएको नितिले उपत्यका पछि गएर अंग्रेजको कब्जामा जाने देखिएको र त्यो भन्दा आफ्नो धर्म र संस्कृतिको लागि पृथ्वीनारायण नै ठिक भन्ने लागेर पनि जयप्रकाशको सेनाले पृथ्वीनारायणको साथ दिएका थिए। त्यसैले पृथ्वीनारायण शाहले भनेका हुन : "मेरो साना दु:खले आर्ज्याको मूलूक होइन , सबै जातको फुलबारी हो ।"
- ती सूचिकार आमैको कुराले त्यो बेला सामान्य आम जनतामा देशभक्ती र आफ्नो राजा प्रतिको विश्वास झल्काउँछ ; एउटा राज्यको सबैभन्दा ठूलो शक्ति भनेको उक्त राज्यका शाषक प्रतिको विश्वास हो , यो विश्वास कमजोर हुँदा राज्य कमजोर हुन्छ ।
- आज देशमा शाषक प्रतिको नागरिकको विश्वास धरासायी भएको छ त्यसैले देश धरासायी भएको छ ; अहिले शाषकको पछि जति पनि मानिस छन ती सब शाषक प्रतिको विश्वासले होइन आफ्नो संकिर्ण स्वार्थको कारणले हो , खासमा यो स्वार्थी जमात नेता वा दलको पछि भन्दा पनि आफ्नो स्वार्थको पछि लागेका हुन किनकी यसो नगर्दा पिउनको जागिर समेत पाईदैन अहिले ||
No comments:
Post a Comment