Email subscription

Enter your email address:

Delivered by FeedBurner

Monday, February 21, 2022

म्याग्दीका चम्किला तारा ले.क.स्वर्गीय नारायणसिंह पुनको संक्षिप्त जीवनी




म्याग्दीका चम्किला तारा ले.क.स्वर्गीय नारायणसिंह पुनको संक्षिप्त जीवनी :

*****************************

१) जन्ममिति/ जन्मस्थान/ पिता-माता :

        स्वर्गीय नारायणसिंह पुनको जन्म वि. सं. २००५ फागुन १४ गते शुक्रबार (25 Feb.1949) मा भएको हो। उनको जन्म साविक शिख गाउँ विकास समिति, वडा नं. २, उपल्लो गाउँ (हाल अन्नपूर्ण गाउँपालिका, वडा नं. ५) शिख, म्याग्दीमा भएको थियो। स्व. उदवीर र स्व. हिरादेवी पुनका कान्छा छोरा थिए। 

२) बाल्यकाल/ शिक्षार्जन : 

        नारायणसिंह पुनको जन्म शिख, देउरालीमा भएको हो। आरम्भिक कक्षा एक जन्मथलो शिखकै विद्यालयमा पढेका उनी पढाइमा यतिसम्म तेज थिए कि, पोखराको सोल्जर बोर्डिङ्ग हाइ स्कूल (हालको अमरसिंह माध्यमिक विद्यालय)मा गै कक्षा फड्को मारेर एकैचोटी चार कक्षामा भर्ना भएर पनि सहजै उत्तीर्ण गरेका थिए। उनको थप बाल्यकाल भारतको देहरादुनमा बित्यो। उनका पिता उदवीर भारतीय सेनामा कार्यरत थिए, उनको पल्टन देहरादुनमा थियो। उनले त्यहाँको क्यामरोनहल स्कूलबाट बाँकी औपचारिक हासिल गर्दै विद्यालय तहको पढाइ पूरा गरेका थिए।

        तत्पश्चात् काठमाडौंस्थित सैनिक आवासीय विद्यालय, लैनचौरमा अध्ययन गरेका पुनले नेपाली सेनामा सेवारत रहदाँ आफ्नो शैक्षिक योग्यता बढाउदै गए। उक्त अवधिमा उनले प्राज्ञिक अभ्यास, प्रशिक्षण, शिक्षा दिक्षा, अवलोकन, भ्रमण आदिको अनगिन्ती अवसर प्राप्त गरेका थिए।  उनले दर्जनौ बिषयमा डिप्लोमा र डिग्री हासिल गरेका थिए।

३) विवाह/सन्तान :    

        नारायणसिंह पुनको विवाह साविक शिख गाउँ विकास समिति, वडा नं.-१ (हालको अन्नपूर्ण गाउँपालिका वडा नं.- ५) तल्लो गाउँ निवासी स्व. मेजर पृथीलाल पुनका छोरी पार्वतीसँग भएको थियो। उनीबाट दुई छोरा हेमन्त र बसन्त जन्मिए। उनको दोस्रो विवाह दार्जिलिङ, भारतका दुर्गासँग भएको थियो। उनीबाट एक छोरी र एक छोरा शिखा र क्षितिजसिंह जन्मिए। उनको तेस्रो विचाह पाँचथर पुर्ख्यौली घर भै हाल काठमाडौं, गल्फूटार, हात्तीगौंडा निवासी मे. सन्तोषकुमार - सन्ध्या राईका छोरी सविना (२०३० मंसिर २)  १९७३-nov-१७)सँग १९९५ मा भएको थियो। उनीबाट एक छोरा सम्राटसिंह (२०५३ असोज) (१९९६ oct) जन्मिए।

४) पारिवारिक विवरण/ सन्तति:

        नारायणसिंह पुनका दुई दाजु र तीन दिदीहरू मध्ये दाजु - भाउजु क्या. स्व. कुलवीर - स्व. चनमति पुन र क्या. श्यामनारायण पुन - चमसुवा पुन हुन्। यसैगरी उनका दिदी - भिनाजुहरू तिलकुमारी - स्व.भीमबहादुर गर्बुजा, शिख, तल्लो गाउँ (हाल पोखरा), स्व. देउमाया - सुनबहादुर पूर्जा पुन (शिख, झारबाङ्ग) र स्व. तुलादेवी - मिनकुमार श्रेष्ठ (बगालेटोल,पोखरा, हाल मालेपाटन) रहेका छन्। 

        नारायणसिंह पुनका पत्नीहरू पार्वती (शिख), दुर्गा (हाल दार्जिलिङ) र सविना (हाल धुम्बाराही, काठमाडौं) रहेका छन्। यसैगरी उनका छोरा - बुहारीहरू हेमन्त - रेश्मी (हाल बेलायत), बसन्त - कौशिला (हाल महाराजगञ्ज, काठमाडौं), क्षितिजसिंह (हाल दार्जिलिङ) र सम्राटसिंह पुन (हाल धुम्बाराही, काठमाडौं) रहेका छन् भने उनका एक मात्र छोरी शिखा पुन (हाल दार्जिलिङ) रहेका छन्।       

       नारायणसिंह पुनका एकमात्र नातिनी आरध्या (बसन्ततर्फका) रहेका छन्।

५) ममतामयी माताको मार्गदर्शन :

        नारायणसिंह पुनका माता हिरादेवी धार्मिक प्रवृत्तिका थिए। उनको पुण्यकार्यको प्रभावले कतिपयले त उनलाई पुण्यदेवी भन्ने गर्थे। वरपरका दु:खी गाँउलेलाई भोको - नाङ्गो देख्नै हुँदैन थियो, लत्ताकपडा र अन्न अनाज बाँडथे। यतिसम्म परोपकारी भावना थियो कि, अन्यत्र चिनीको चिया नपाइने त्यतिखेरको जमानामा उनको घरको बाटो हुँदै हिड्ने बटुवा र तीर्थयात्रीलाई समेत चियापान गराएरै पठाउँथे। उनको सेवाभावबाट प्रभावित प्रायः जसोले तिम्रा छोराहरू "उच्च ओहदामा पुगुन्" भन्ने आशिर्वाद दिन्थे, नभन्दै उनका तीन जना छोरा नै उच्च सैनिक पदमा पुगेका थिए।

        जनजातिको परिवारमा हुर्के बढेका भएपनि हिरादेवीमा आध्यात्मिक ज्ञान प्रचुर मात्रामा थियो। तिनै ममतामयी आमाको धार्मिक भावयुक्त अर्ति उपदेशहरू नारायणसिंहले जीवनभर सम्झिरहन्थे। यसर्थ आफ्ना आमाको आध्यात्मिक धारणाको प्रभाव र धार्मिक प्रवृत्तिका प्रेरणादायी छाप उनको जीवनभर रहिरह्यो। मदिरापान स्थलमा सहभागिता जनाउन त्यति नचाहने शालिन पुनले 'आफ्नो मर्यादाका निम्ति अरूको मर्यादा राख्न सक्ने संस्कार र सभ्यता' माताबाटै सिकेका आचरण थिए।

        पुनले उनको सामुन्ने गएर साँचो बोल्ने मानिसलाई मन पराउँथे। कठिन परिस्थितिको सामना गर्न सक्ने र नीति, नियमलाई महत्व दिने उनको स्वभाव थियो। अरुलाई छिट्टै विश्वास गर्ने र छलकपट अनि बनावटी कुरालाई मन नपराउने उनको आचरण थियो। पुनमा भएका यी गुणहरू उनका माताका मार्गदर्शनका उपज थिए।

६) पेशा/ व्यवशाय :

        नारायणसिंह पुन २१ वर्षको उमेर (सन् १९६९, वि. सं २०२६)मा नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा भर्ति भएका थिए। अत्यन्तै तीक्ष्ण बुद्धिका उनले आफूलाई आफ्नो समूहमा सर्वोत्कृष्ट सावित गर्दै लण्डनमा हुने सेन्ड हर्स कोर्षका लागि तालिममा जाने अवसर प्राप्त गरे।

        नेपाली सेनामा अनुशासित एवम् इमान्दारिता पूर्वक २२ बर्ष बिताउँदै लेफ्टिनेन्ट कर्णेल पदमा पदोन्नती भएका उनी २०४८ सालमा सेवानिवृत्त भएका थिए। 

       सैनिक सेवामा रहँदा हेलिकप्टरको कुशल चालक भएको अनुभवलाई उपयोग गर्दै उनी रिटायर्ड भएपछि पनि नेपाल एअरवेजमा पाइलट बने। उक्त काममा उनले करिब ३ वर्ष बिताए।

        उनले केही साथीहरूको साझेदारीमा मनकामना हेलिकप्टर सर्भिस प्रारम्भ गरे, पुनमगरहरु मिलेर चलाएको उक्त सेवा एक वर्ष मात्र सञ्चालन भयो।

        अन्ततोगत्वा, उनले आफ्नै एकल लगानीमा कर्णाली एअर प्रा. लि. को सञ्चालन गरे। काठमाडौंको सिनामंगल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै) मा सञ्चालित उक्त प्रा. लि. ले पुनको सामाजिक एवम् आर्थिक स्तरलाई उच्चतम विन्दुमा पु-यायो। आफ्नै विवेक, बलबुता, परिश्रम र व्यवस्थापकीय कौशलताद्वारा आर्जित र स्थापित उक्त प्राइवेट हेलिकप्टर कम्पनी उनको जीवनयापनका लागि उपयोगी त बन्यो नै, राजनीति र समाजसेवाका लागि समेत वरदान सावित भयो।

७) शिक्षाप्रेमी व्यक्तित्व :

        पुन शिक्षाप्रेमी व्यक्तित्व हुन्। उनले म्याग्दी जिल्लामा अवस्थित प्रायः माध्यमिक विद्यालयहरूलाई उल्लेखनीय आर्थिक सहयोग गरेका थिए। भौतिक रुपमा भवन र कक्षाको अभाव, पर्याप्त दरबन्दी विना नै अध्यापन गराउनु पर्ने कठिनाइका बाबजुद सञ्चालित तत्कालिन विद्यालयहरूलाई पुनको सहयोगले ठूलै राहतको महसुस भएको थियो।

        २०५८ को बाढी पहिरो प्रभावित शिशुकल्याण माध्यमिक विद्यालय, अर्मन लगायतलाई भवन पुनर्निर्माण एवम् जग्गा खरिदका लागि उनले गरेको उल्लेखनीय सहयोग अविस्मरणीय छ।

        उनले चुनाव जित्नु अघि, चुनाव लड्नु अघि र टिकट पाउनुभन्दा पनि अघि विद्यालयहरूलाई गरेका सहयोगले  जनताबीच लोकप्रिय भएका थिए।

        उनले शिक्षक दरबन्दी अभाव रहेका कतिपय विद्यालयको शिक्षकको तलब समेत नीजि तवरले उपलब्ध गराउँथे। यसरी उनले जिल्लाका विद्यालयहरूलाई उदारतापूर्वक गरेको सहयोगका आधारमा उनको शिक्षाप्रतिको मोह झल्काउँछ।

८) म्याग्दी क्याम्पस सञ्चालनमा योगदान:

        २०४८ असोज १ गते गठित "प्रस्तावित म्याग्दी क्याम्पस तयारी समिति"को २०४८ असोज १६ गतेको बैठकले शैक्षिक बर्ष ०४८/०४९ देखि नै क्याम्पस सञ्चालनका लागि म्याग्दीका तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा पौडेलको अध्यक्षतामा गठित १७ सदस्यीय क्याम्पस सञ्चालक समिति गरेको थियो। तयारी समितिद्वारा सोही दिन काठमाडौंमा रहेका जिल्लावासीको भेला गराइ प्रा. ठाकुरप्रसाद पराजुलीको संयोजकत्वमा २१ सदस्यीय म्याग्दी क्याम्पस सहयोग समिति गठन गरेको थियो। उक्त समितिमा नारायणसिंह पुन सहयोगी सदस्य रहेका थिए।

        २०४८/०४९ बाट क्याम्पस सञ्चालनार्थ काठमाडौंवासी म्याग्देलीको २०४८ असोज १८को भेलाले प्रा. ठाकुरप्रसाद पराजुलीको संयोजकत्वमा गठित म्याग्दी क्याम्पस सहयोग समितिमा पुन सहयोगी सदस्य थिए।

        २०५६ माघ १३ गते म्याग्दी क्याम्पस सञ्चालक समितिको दोस्रो साधारण सभाबाट डा. भूपेन्द्रबहादुर खड्काको अध्यक्षतामा गठित २० सदस्यीय तेस्रो सञ्चालक समितिमा नारायणसिंह पुन तत्कालिन म्याग्दी जिल्लाको प्रतिनिधि सभा सदस्य (सांसद) को हैसियतले पदेन सदस्य रहेका थिए। 

        उक्त क्याम्पसको नीति तथा विधान बमोजिम उल्लेखनीय आर्थिक सहयोग गर्नुका (२०४८ मा रू २,४२,०००/-)साथै छात्रवास निर्माण (२०५७-०५९)मा समेत विशेष सहयोग (रु २,००,०००/-) गर्ने पुनलाई क्याम्पसले आजीवन सदस्यका रूपमा सम्मान गरेको थियो।

९) नेपाली कांग्रेसमा आबद्ध :

        नारायणसिंह पुन सैनिक सेवाबाट अवकाश प्राप्त गरेपछि समाजसेवामा समर्पित हुन चाहन्थे। परोपकारी भावका मनकारी उनले राजनीतिमार्फत जनता बीच जाने निर्णय गरे। नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धका कारण कांग्रेसलाई निकै नजिकबाट नियाली रहेका पुनले तत्कालिन पार्टी सभापति गिरिजाबाबु कै आग्रहमा वि. सं. २०५५मा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनले आफ्नै गृह जिल्ला म्याग्दीबाट राजनैतिक यात्रा प्रारम्भ गर्ने सोच राखे। २०५६को आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्य पदका लागि म्याग्दीबाट उम्मेदवार बन्ने टिकट पाएपछि उनको अभिष्ट पूरा भएको थियो।

१०) २०५६ मा सांसद निर्वाचित :

        नारायणसिंह पुन २०५६को आमनिर्वाचनमा एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको म्याग्दी जिल्लामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बने। उक्त निर्वाचनमा कुल मतदाता ७०,४७५ रहेकोमा ४७,२२२ मत खसेको थियो। ३,७१३ मत बदर भै कुल सदर मत ४३,५०९ मध्ये पुनले १६,९८४ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम तत्कालिन  नेकपा एमालेका नरदेवी पुनले प्राप्त गरेको १२,१९६ मत भन्दा ४,७८८ मत बढी ल्याएर फराकिलो मतान्तरले विजयी बनेका थिए। उक्त निर्वाचनमा तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद गौचनले १०,१५५ मत प्राप्त गरेका थिए।

        यसरी म्याग्दी जिल्लाबाट प्रतिनिधित्व गरेका सांसद पुनले संसदको परराष्ट्र सम्बन्ध एवम् मानव अधिकार समितिमा रहेर खेलेको भूमिका अविस्मरणीय छ। सो समितिमा रहदाँ उनले वैदेशिक कुटनीतिक सम्बन्ध, संसदीय दलहरू, नेतृत्व र व्यवस्थापन बारेमा पूर्वक गहिरो अध्ययन गरेका थिए।

११) मन्त्रीपरिषदमा समावेश :

        दुई चरणमा सम्पन्न भएको आमनिर्वाचन २०५६ मा तत्कालिन २०५ निर्वाचन क्षेत्र मध्ये १११ सीटमा विजयी बन्दै नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। प्रधानमन्त्रीका रुपमा पूर्व घोषित नेता कृष्णप्रसाद भट्टराई संसदीय दलको नेतामा चयन हुदै २०५६ जेठ ७ गते प्रधानमन्त्री बने। भट्टराई नेतृत्वको मन्त्री मण्डलमा म्याग्दीबाट निर्वाचित सांसद नारायणसिंह पुन पर्यटन तथा संस्कृति सहायक मन्त्री बने। उनी गिरिजाबाबुका विश्वासपात्र थिए, यहि निकटताका कारण उनले उक्त सफलता हासिल गरेका थिए।

         माओवादी द्वन्द्वकालीन असहज परिस्थितिको सामना र पार्टी भित्रैबाट आलोचना, विरोध र असहयोगका कारण २०५६ चैत ३ गते तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संसदमा एक विशेष सम्बोधन गर्दै राजिनामाको घोषणा गरेका थिए। यसरी भट्टराईको दश महिनाको कार्यकालमा नारायण सिंह पुन सहायक मन्त्री भए।

१२) 'नेपाल समता पार्टी'को संस्थापक :

        नारायणसिंह पुनले वि. सं २०५९मा 'नेपाल समता पार्टी' नामको नयाँ दल खोले। आदिवासी जनजाति, गैह्रजनजाति,दलित, मधेसी, सबै जातजातिका साथै भूतपूर्व सैनिक एवम् किसान वर्गको समान सहभागिता र नेतृत्व भएको पार्टीका रुपमा स्थापना गरिएको उद्घोषका साथ उनले आफ्नै अध्यक्षतामा सो पार्टी खोलेका थिए। 

        सो पार्टीको संगठन विस्तार गर्दै ५७ जिल्लामा जिल्ला समिति गठन गरिएको थियो। म्याग्दीमा क्या. मीनबहादुर कार्कीको अध्यक्षतामा जिल्ला समिति गठन भएको थियो। पार्टी संस्थापक अध्यक्ष रहेका पुन २०५९ देखि ०६३ सम्म सर्वजातिय समभाव र सद्भावको पवित्र उद्देश्यले स्थापित उक्त पार्टीको केन्द्रीय अध्यक्ष भए। उनको निधन सँगै उक्त पार्टी निस्क्रिय र छिन्नभिन्न भयो। 

१३) भूपू सैनिक महासंघको केन्द्रीय अध्यक्ष:

        नारायणसिंह पुनले वि.सं २०५८मा देशभरका भूतपूर्व सैनिकहरुको भेला गराए‌। उक्त भेलाबाट उनी स्वयम् भूतपूर्व सैनिक महासंघको अध्यक्षमा चुनिए।

१४) मन्त्री :

        २०५९ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम घोषणाका साथ विस्थापन गर्दै राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए। यस मन्त्री मण्डलमा नारायणसिंह भूमिसुधार मन्त्री बनाइए। 

        "राजनीति समन्वय र सम्भावनाको खेल हो" भन्ने कुरा राम्ररी बुझेका पुनले त्यही खेलको श्रेयस्कर खेलाडी बन्ने प्रयत्न गरिरहे। यसैको परिणतिस्वरुप उनी पुन: मन्त्री भए। उक्त मन्त्रीमण्डलमा उनी भौतिक योजना मन्त्रीका रुपमा २०६० - ०६२ सम्म रहे। 

        यसरी राजाको प्रत्यक्ष शासन कालमा गठित दुवै मन्त्री मण्डलमा उनले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका थिए। उनी भौतिक योजना मन्त्रीका रुपमा रहदाँ सदरमुकाम बेनी जोड्ने मालढुंगा - बेनी मोटरबाटो अन्तर्गत कालीगण्डकी नदीमा मोटरेवल पुल उनकै योगदानको उपज थियो। 

१५) सरकार- माओवादी शान्ति वार्ताका लागि सरकारी पक्षका संयोजक :

        पुन भौतिक योजना मन्त्री रहेका समयमा सरकार माओवादी शान्ति वार्ताका लागि सरकारी पक्षका वार्ता संयोजक भएका थिए। माओवादीहरुले निर्णायक वार्ता सोझै राजासँग हुन्छ भन्ने खालको आशय राखिरहेका बेला पुनले राजाको प्रतिनिधिका हैसियत समेत पाएको माओवादीहरूको बुझाइ थियो।

        माओवादीले युद्ध विरामको घोषणा गर्दै डा. बाबुराम भट्टराईको संयोजकत्वमा रामबहादुर थापा, देव गुरुङ, कृष्णबहादुर महरा र मातृकाप्रसाद यादव रहेको ५ सदस्यीय टोली गठन गरेको थियो।

        मन्त्री पुनले दरबार, सरकार, माओवादी, प्रजातान्त्रिक पार्टी सबैको विश्वास पाइरहेकोले पनि उनलाई शान्ति वार्ताका लागि सरकारपक्षीय संयोजक मान्न सजिलो भएको थियो। उनको समयमा माओवादीसँग गरिएको वार्ता प्रक्रिया राष्ट्रिय हितलाई सर्वोपरि राखेर बढाएका थिए।

        उनले आफ्नै कम्पनीको हेलिकप्टरमार्फत माओवादीका वार्ता टोलीका सदस्यहरूलाई काठमाडौं ल्याइ वार्ता गर्न सफल भएपछि उनको राजनीतिक छवि आकाशिएको थियो, उनी यति चर्चाको शिखरमा पुगे कि उनलाई भावी प्रधानमन्त्रीका रुपमा समेत हेरिन थालिएको थियो‌‌।

१६) नेतृत्व कुशलता र स्वअनुशासनमा दृढ :

        पुन दृढ विश्वासी एवम् लौह अनुशासनमा रहने प्रवृत्तिका व्यक्ति थिए। राजनीतिक जीवनमा प्रवेश गर्नु अघि लामो समयसम्म सैनिक सेवामा रहेकाले पनि यिनमा ती गुण भरपुर थिए। उनी भन्थे-"नेतामा नेतृत्व कुशलता र स्वअनुशासन भएनन् भने संगठनहरू प्रभावहिन, भरोशाहिन र बदनाम भएर जान्छन्।"

        आत्म अनुशासन, स्वच्छ छवि बनाइरहने दृढ इच्छा शक्ति, राष्ट्रप्रतिको सङ्कल्प र प्रतिबद्धता जस्ता नेतृत्वमा हुनुपर्ने गुण भएकैले उनले राजनैतिक सफलता हासिल गरेका थिए।

१७) देहावसान :

        नारायणसिंह पुनको निधन वि.सं. २०६४ फागुन ९ गते बिहीबार (21 Feb. 2008) अपरान्ह २ बजे भएको हो। भारतको नयाँदिल्लीस्थित सर गंगाराम हस्पिटलमा उपचारार्थ भर्ना गरिएका पुन ५९ वर्षको उमेरमा स्वर्गीय भएका हुन्।

        पुन सुगर र उच्चरक्तचापको बिरामी त छदै थिए, त्यसमा पनि उनको मृगौलामा सङ्क्रमण देखिएपछि शारीरिक रुपमा अस्वस्थ बने। स्वर्गारोहण हुनुभन्दा डेढ महिना अघि सल्यक्रियाद्वारा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदै आएको थियो, उनलाई उनका कान्छी पत्नी सविनाले मृगौला दान गरेका थिए। तर एक्कासी प्रत्यारोपित मृगौलाले दश प्रतिशत भन्दा पनि कममात्र काम गरेपछि उनी गम्भीर बिरामी परेका थिए। उनलाई फागुन ५ गते साँझ देखि ज्वरो आएको थियो, बिहिबार दिउँसो उनको निधन भयो । उनको दाहसंस्कार फागुन १० गते काठमाडौंको पशुपति आर्यघाटमा गरिएको थियो।

१८) सामाजिकृत स्वभाव र व्यक्तित्व - निष्ठा र समर्पण भावले उठेका नेता :

        पुन निष्ठा, समर्पित भाव र लक्ष्यप्रतिको प्रतिबद्धताकासाथ क्रियाशील हुने प्रवृत्तिका थिए। "नेता उपदेशात्मक होइन, उदाहरणीय बन्नु पर्छ " भन्ने उनको धारणा रहेको थियो। "पाण्डित्यले होइन कि चरित्रले चिनिनुपर्छ" भन्ने मान्यता राख्ने पुन भाग्यमा भन्दा कर्ममा विश्वास गर्ने कर्मयोगी थिए।

        उनी निष्ठा र समर्पण भावले उठेका नेता हुन्। धन र मन दुवै भएका विरलै व्यक्ति मध्येका एक उनले म्याग्दी जिल्लाका विकट गाँउहरुमा पनि आफ्नै हेलिकप्टरमार्फत विद्युत ट्रान्सफर्मर निशुल्क ढुवानी गरिदिएका थिए। सिकिस्त बिरामीहरूलाई निशुल्क रुपमा हेलिकप्टर सेवा प्रदान गरेर उनले लगाएको गुण अविस्मरणीय छ।

        यसरी आफ्नो धनलाई सामूहिक हितका लागि खर्च गर्न नहिच्किचाउने उनी प्रष्ट वक्ता समेत थिए। परिश्रमी अनि सभ्य, शिष्ट र शालिन व्यक्तित्वका धनी पुन विकट ठाउँमा जन्मिएका बहुमूल्य हिरा थिए।


सन्दर्भ सामग्रीहरू :

* म्याग्दी स्मारिका - २०५८, नेपाली कांग्रेस, म्याग्दी, बेनी (पृष्ठ ४५, ४७)

* जनमत पत्रिका, २०५९ फागुन (पृष्ठ २०, २२, २६, २७, २८, २९)

* फूलबारी स्मारिका २०६१, म्याग्दी बहुमुखी क्याम्पस बेनी, म्याग्दी (पृष्ठ १०, ७३, १३८-१४१)

* श्रेष्ठ अजयमिलन, म्याग्दीमा नेपाली कांग्रेस, अभिलेख सङ्ग्रह-१,२०६९ ( पृष्ठ १०)

* म्याग्दी स्मारिका - २०७२, नेपाली कांग्रेस, जिल्ला कार्य समिति, म्याग्दी (पृष्ठ ४) 

* बानियाँ कर्णबहादुर, म्याग्दीको इतिहास, संस्कृति र सम्पदा, २०७५ (पृष्ठ १११, ११३, १२४,१५५,१५६)


स्रोत व्यक्तिहरू:

शिव केसी, ९८०१०६२६२७

तिलकुमारी गर्बुजा

गोपाल गर्बुजा, ९८४०१०२०८१

क्या. मिनबहादुर कार्की, ९९५७६४०१९३

चेतबहादुर पुन, ९८४७६४२४५० 

सविना राई, ९८०१०१३१५५

मिनकुमार श्रेष्ठ,९८५६०२६९१९

सरस्वती पाइजा, 9806676210  

तिल कुमारी पाइजा,

वेगबहादुर पुन

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...