जापानमा निर्दोष व्यत्तीको हत्या भएपछिको क्षतिपूर्ती प्रणालीको प्रकिृया
चिबा केनमा एक नेपालीको हत्या भएको खबर सुनें । उनको हत्या के कसरी भयो विस्तृतमा थाहा भएन तर जापानमा निर्दोष व्यक्तिको यसरी हत्या वा शारीरिक, मानसिक वा आर्थिक क्षति बेहोरेका व्यक्ति वा तिनका परिवारलाई यहाँका सरकारी र गैह्रसरकारी संस्थाहरुले आर्थिक वा अन्य बिबिध तवरले सहयोग गर्ने राम्रो सिस्टम रहेको छ:
पीडित सहयोग प्रणाली (被害者救済制度)
पीडित सहयोग प्रणाली भन्नाले अपराधका कारण शारीरिक, मानसिक वा आर्थिक क्षति बेहोरेका व्यक्ति वा तिनका परिवारलाई सहयोग गर्ने उद्देश्यले बनाइएको समग्र व्यवस्थालाई जनाउँछ। यस प्रणाली अन्तर्गत सरकारले, स्थानीय निकायहरूले र निजी संस्थाहरूले आपसमा समन्वय गरी आर्थिक, मानसिक, र कानूनी सहयोग लगायतका विभिन्न प्रकारका सहायता प्रदान गर्छन्।
मुख्य प्रणालीहरूमा अपराध पीडित क्षतिपूर्ति प्रणाली, पीडक बाटको भुक्तानी प्रणाली, विशेषज्ञद्वारा प्रदान गरिने (法テラス) कानुनी परामर्श, देशभर स्थापना गरिएका पीडित सहयोग केन्द्र हरूको परामर्श तथा प्रक्रिया सहयोग, र स्थानीय निकायहरूले सञ्चालन गर्ने आफ्नै सहयोग कार्यक्रमहरू समावेश छन्।
मुख्य प्रणालीका प्रकारहरू:
1. अपराध पीडित क्षतिपूर्ति प्रणाली(犯罪被害給付制度):
न्याय मन्त्रालयको अपराध पीडित क्षतिपूर्ति ऐनमा आधारित यो प्रणाली अन्तर्गत, मानिसको ज्यान वा शरीरमा हानि पुर्याउने जानाजानी गरिएको अपराधका पीडितहरूलाई सरकारले एकमुष्ट रूपमा क्षतिपूर्ति, अपाङ्गता क्षतिपूर्ति, वा गम्भीर चोटपटक क्षतिपूर्ति प्रदान गर्छ।
2. पिडक बाटको भुक्तानी प्रणाली(被害回復給付金支給制度):
पिडकको ठगी, अवैध ऋण जस्ता सम्पत्ति सम्बन्धी अपराधबाट प्राप्त गैरकानुनी सम्पत्तिलाई राज्यले जफत गरी, त्यसलाई नगदमा परिणत गरी पीडितहरूलाई वितरण गर्ने प्रणाली हो।
3. क्षतिपूर्ति आदेश प्रणाली(損害賠償命令制度):
फौजदारी मुद्दामा दोषी ठहर भएपछि, पीडितले अभियुक्तविरुद्ध नोक्सानी क्षतिपूर्ति माग गर्न सक्ने व्यवस्था हो।
4. पीडित सहयोग केन्द्र(被害者支援センター)
यो पीडित सहयोगको देशब्यापी सञ्जाल हो, जुन जापानका सबै प्रान्तहरूमा स्थापना गरिएको छ। यसले अपराध पछि छिट्टै र दीर्घकालसम्म पीडितको परामर्श, कानुनी प्रक्रिया सहयोग, र सम्बन्धित निकायहरूसँग समन्वयजस्ता समग्र सहयोगहरू प्रदान गर्छ।
5. कानूनी सहयोग प्रणाली(法テラスの法律相談援助制度)
पीडितको आर्थिक स्थिति बलियो कमजोर जे भए पनि वकिल सँग निःशुल्क कानूनी परामर्श पाउने व्यवस्था हो।सामन्यतया आर्थिक अवस्था कमजोर भएका हरुले मात्रै प्रयोग गर्न पाउने ब्यबस्था हो।
6. पीडित सहयोग अधिकृत प्रणाली(被害者支援員制度):
यो देशभरका अभियोजन कार्यालयहरूमा छ, जसले पीडितका परामर्श, मुद्दा प्रक्रियामा साथ दिनु, मुद्दा अभिलेख अवलोकन, सम्बन्धित संस्थाको सिफारिस आदि कानूनी तथा मानसिक सहयोग प्रदान गर्छ।
7. स्थानीय निकाय तथा अन्य संस्थाद्वारा सहयोग(自治体等による支援):
उदाहरणका लागि, जापान फाउन्डेशनको 預保納付金支援事業 जस्तै योजनाहरू अन्तर्गत आर्थिक सहायता, शैक्षिक ऋण, हेरचाह भत्ता आदि विविध सहयोगहरू सरकार, निजी संस्था र स्थानीय निकायहरूले प्रदान गर्छन्।
निरज गुरुङ

No comments:
Post a Comment