Email subscription

Enter your email address:

Delivered by FeedBurner

Saturday, September 27, 2025

“बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी


 

स्वर्गीय लाल कुमार फगामीलाई सम्झँदा


“बजिरहने सुर, बाँचिरहने सम्झना”स्वर्गीय लाल कुमार फगामी


– एक असल छिमेकी, कलाकार र समाजसेवी

स्वर्गीय लाल कुमार फगामी “साइला” एक असल छिमेकी हुनुहुन्थ्यो। बाल्यकालदेखि नै उहाँ सबैसँग मिलनसार हुनुहुन्थ्यो—साना–ठूला सबैका प्रिय, हँसिला र आत्मीय।


उहाँ सानैदेखि बहुप्रतिभाशाली कलाकार हुनुहुन्थ्यो। मादल, हार्मोनियम, बासुरीजस्ता वाद्य यन्त्रहरू अत्यन्तै मिठासका साथ बजाउनुहुन्थ्यो। उहाँका सुरहरूले गाउँका साँझहरू संगीतमय बनाउँथे।


बेग गाँउको नौमती बाजाजस्तो लोपोन्मुख परम्परागत सांगीतिक सम्पदाको पुनर्जागरणमा उहाँको योगदान अतुलनीय छ। बेगमा फेरि नौमती गुञ्जिन थालेको छ भने, त्यसमा उहाँको भूमिका अग्रपंक्तिमा रह्यो। जीवनको अन्तिम क्षणसम्म पनि कर्णालको नगारा बजाइरहनु भएको त्यो समर्पण हामीले प्रत्यक्ष देखेका थियौं—अहिलेसम्म मनमा गडेर बसेको छ।


उहाँ युवा क्लब, खेलकुद र सांस्कृतिक गतिविधिहरूमा सदैव सक्रिय हुनुहुन्थ्यो। शिवरात्रि मेला, भूमेपूजा, बराहा लगायत थुप्रै पर्वहरूमा उहाँको उपस्थिति उल्लेखनीय थियो। गाउँकै बिचको फुटबल मैदानमा उहाँले देखाउनुभएको खेलकला र अन्य गाउँमा देखाइएको प्रदर्शनले म्याग्दी जिल्लामा तहल्का नै पिटेको थियो—उहाँ साँच्चै एक उत्कृष्ट फुटबल खेलाडी हुनुहुन्थ्यो।


गाउँको संस्कृति र परम्पराको जीवित धरोहर हुनुहुन्थ्यो उहाँ। देउरालीमा पिङ हाल्दा, केटाहरू बादुकको भीरबाट बाबियो काट्थे, पचहर्दाको बनबाट दोपदोबेको लिङगो ल्याउँथे, केटीहरूले सुतरी फूलमाला र खाजा तयार पारेर स्वागत गर्थे। उहाँ पनि त्यसमा सधैं अग्रसर रहनुहुन्थ्यो। पिङ मच्चाएर पिपलको टुप्पो छुने उहाँको उत्साह, अनि साँझपख घरको काम सकेर भवन धरमा मादल, हार्मोनियम र मुरलीको तालमा नाच सिक्ने सिकाउने उहाँको शैली अविस्मरणीय छ।


उहाँको हार्मोनियम र बासुरी बजाउने सीप साँच्चै अनुपम थियो। हामी त उहाँको सुरमा रमाउँथ्यौं, ताली बजाउँदै गीतसँगै गुनगुनाउँथ्यौं। 

भूमेपूजामा युवालाई एकजुट पारेर, बुढापाका र पूजारेहरूलाई सहयोग गर्ने उहाँको भुमिका साँच्चै प्रेरणादायी रहन्थ्यो। कुनैबेला उहाँ स्वयं मारुनीको रूपमा प्रस्तुत हुनुभएको पनि हाम्रो सामु ताजै छ।


नौमती बाजामा उहाँ गुरु समान हुनुहुन्थ्यो। नगारा र कर्नाल यति सजीव ढंगले बजाउनुहुन्थ्यो कि सहभागीहरूको आँखाबाट आँसु झर्थ्यो, देवता चढ्ने र काम्ने ती क्षणहरू गहिरो भावनात्मक अनुभूति बन्ने गर्थे।

गत वर्षको तिहारमा वर्षौंपछि भेट भएको थियो। सिमको मेलामा उहाँसँग रमाइलो गर्न पाइएको थियो। 

सोबाङधुरी जाँदा हम्पालको घरको चाबी दिनुभएको थियो—एक रात त्यहीं सुत्यौं। फर्केर चाबी फिर्ता गर्दा देखिएको उहाँको विशाल हृदयले मन छुयो। “एक दिन बसेर गफ गरौंला भदैइ” भन्नुभएको त्यो कुरा नै अन्तिम बन्यो, जुन सम्झँदा अझै पनि मन पोल्छ।


सानोमा ओखलेको पहिरोबाट तारेर बचाउनुभएको सम्झना अझै ताजा छ। पछि ठुलो भएपछि “बेगखोलाको चिनारी” पुस्तक र “डकुमेन्टरी” निर्माणमा पनि उहाँले पुर्‍याउनुभएको सहयोग निकै महत्त्वपूर्ण रह्यो।


आज सम्झिँदा, यस्तो असल छिमेकी, गाउँ, समाज, संस्कृति र संस्कारलाई बुझ्ने सरल, शालीन, समर्पित व्यक्तित्वलाई गुमाउँदा मन साँच्चै भारी भएको छ।


उहाँले देखाउनुभएको माया, सद्भाव, योगदान र दिएको नैतिक शिक्षाको बाटो हामी कहिल्यै भुल्ने छैनौं। उहाँ हाम्रो स्मृतिमा सदैव जीवित रहनुहुनेछ।


हार्दिक श्रद्धाञ्जली, स्व. लाल कुमार फगामी — तपाईं सधैं हाम्रो सम्झनामा रहिरहनु हुनेछ। 🙏


बासुरीले बोल्थ्यो भावना,

हार्मोनियम हुन्थ्यो गीतको स्वर,

नगारा र कर्नालले उठाउँथ्यो

देवता चढ्ने त्यो गहिरो असर।


म्याग्दीका मैदानहरू जान्दथे

उहाँको पास, गोल, गति र जोश,

फुटबलको खेल होस् कि मेलामा

उहाँ सधैं देखिनुहुन्थ्यो अग्रपंक्तिको होस।


पिङको रौनक, फूलको खाजा,

गाउँका गौरव गर्ने परम्परा,

साँझपख घन्किने बाजा,नाच र ताल,

जोड्थे सबैलाई संस्कृतिको धारा।


ओखलेको पहिरो, तारिदिएको जीवन,

नौमतीको पुनर्जन्मको सारथि,

उहाँ थिए साहस, सिर्जना, संस्कार,

गाउँ–समाजको आत्मा र साथी।


आज पनि गाउँ स्तवध छ,

सुर नभए पनि बाँसुरी बोल्छ,

“साइला दाइ” सम्झँदा आँखा रसाउँछ,

मनभित्र उहाँ अझै पनि डुल्नु हुन्छ ॥


हार्दिक श्रद्धासुमन

तुल ब.चोचाङ्गी 〜जापान

No comments:

Post a Comment

नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵

  नेपाल–जापान ७० वर्ष : मित्रता, सहकार्य र भगिनी सम्बन्धको नयाँ अध्याय 🇳🇵🇯🇵  नेपाल र जापानबीचको ७० वर्ष लामो कूटनीतिक तथा मैत्री सम्बन्ध...