Email subscription

Enter your email address:

Delivered by FeedBurner

Tuesday, June 1, 2021

को हुन् मगर ?

 



को हुन् मगर ?

मगरहरू नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरूमध्ये सङ्ख्यात्मकरूपले सबैभन्दा ठूलो जातीय समुदाय हो । २०६८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १८,८७,७३३ रहेको छ । उनीहरू नेपालका ७५ वटै जिल्लामा बसोबास गर्दछन् । तर, विशेषतः बाग्लुङ, म्याग्दी, तनहुँ, पाल्पा, नवलपरासी, प्युठान र रोल्पा जिल्लामा मगरहरूको बाहुल्यता रहेको छ । उनीहरूको मौलिक सामाजिक परम्परा, भाषा, रहनसहन, चालचलन, भेषभूषा तथा रीतिरिवाज छ । मगर समुदायको थर, उपथर छन् । उनीहरू विभिन्न थर र उपथरअनुसार आफ्ना कुलपूजा गर्दछन् । र, पूजा गर्दा उनीहरू आफ्ना पुर्खाहरूलाई मुल थलोबाट पूजा मण्डपमा बोलाउने विधि गर्दछन् ।


मगर जाति एक जाति बहुभाषा भएको समुदाय हो । धार्मिक र सांस्कृतिकरूपले मगरहरू हिन्दू धर्मबाट बढी प्रभावित देखिए पनि जातीय धर्मको रूपमा बौद्ध धर्म मान्न थालेका छन् । उनीहरूले मौलिक परम्परागत संस्कारहरूलाई निरन्तरता दिइरहेका छन् ।


आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको मगर जातिको परिचय नामक पुस्तकमा इमानसिंह चेम्जोङका अनुसार किरात मुन्धुमअनुसार मगरहरू उत्तरी हिमालय क्षेत्रको सिम भन्ने स्थानबाट सिङ र चितु नामक दुई जनाको नेतृत्वमा नेपालको दक्षिणी भेगमा आई बसोबास गरेको हुन् । त्यसैगरी प्राचीन मगर र आक्खा लिपिका लेखक एमएस थापा मगरका अनुसार मगरहरू प्राचीन ढुङ्गेयुग वा शिकारी युगमा चीनको पामिरतिरबाट आजभन्दा करिव ४ हजार वर्षअगाडि भारतीय महादीपमा बसाइँ सरेका हुन् । र, लामो समयको अन्तरालमा पशुपालन युग र कृषि युगको थालनीसँगै जीविकोपार्जनका लागि अनुकूल ठाउँको खोजी गर्दै उनीहरू सुदूरपश्चिम र उत्तरतर्फबाट नेपाल प्रवेश गरेका हुन् ।


तर, बमकुमारी बुढामगरका अनुसार मगरहरूको उत्पत्ति थलो चीनको कुनै भू–भागमा नभएर हालको रुकुम जिल्लाको हुकाम मैकोटस्थित योमाखार पु अर्थात् अरिङ्गाल बस्ने ओडार र पेल्माखार पु अर्थात् जौं छर्ने ओडारबाट रिन्दु र पुरन नामक दुई जना रमा झाँक्रीको उत्पत्ति भएको हो । हुकाम मैकोटका ती दुई ओडारमा पुर्खाहरूमध्ये पाल (गोरा)का सन्तान वर्तमान रिडीदेखि पूर्व गोर्खासम्मको भूक्षेत्रमा फैलिएर बाह्र वटा राज्य स्थापना गरेको थिए भने मोल (काला)का सन्तानहरूले रिडीदेखि पश्चिम महाकालीसम्म अठार वटा राज्य स्थापना गरेका थिए ।


ऐतिहासिक कालदेखि नै मगरात भनिने राप्ती र गण्डकी क्षेत्रमा मगर जातिको सघन बसोबास रहँदै आएको छ । भनिन्छ, मगर वंशजको कर्णाली प्रदेश हुम्लाको हालको सिमिकोट र पर्वत जिल्लाको कुश्मा क्षेत्रमा राज्य थियो । पछि नेपाल एकीकरणको क्रममा मगरहरूले आफ्नो राज्य गुमाउन पुगेको र मगरहरू ७५ वटै जिल्लामा फैलिन पुगेको भन्ने भनाइ छ । वर्तमान अवस्थामा मगरहरू नेपालबाहेक भारतको सिक्किम, मेघालय, उत्तराञ्चल (देहरादुन)का साथै भुटान, बर्मा, हङकङ, बेलायतलगायतका मुलुकमा बसोबास गर्दछन् ।


चाडपर्व

मगर समुदायमा प्रकृतिसँग सम्बन्धित लोक चाडपर्वहरू भूम्या, माघे, राँखे–झाँक्री मेला, चण्डीपूर्णे प्रचलनमा छन् । मगरहरूको मौलिक नाचहरू विशेषतः सोरठी, मारुनी, घाँटु, कौरा, हुर्रा हुन् ।


भाषा

भोट–बर्मेली परिवारका मगर समुदायमा तीन किसिमका भाषिका समूह रहेका छन् । तिनमा बाह्र मगराँत (ढूँट), अठार मगरात र काइके हुन् । उक्त भाषिक समुदायको मौलिकपन छ । २०६८ सालको जनगणनाअनुसार ७८,८, ५३० जना मगर भाषाका वक्ता रहेका छन् ।

No comments:

Post a Comment

「ネパールと仙台が一つに!ネパールフェスティバル2025開会式の感動」

    🌸第一目ネパールフェスティバル仙台2025開催されました🌸 ~多文化が響き合う、希望と友情の幕開け~  2025年6月7日、宮城県仙台市の中心にある元鍛冶丁公園市民広場で、「ネパールフェスティバル仙台2025」の開会式が華やかに行われました。初夏の爽やかな空気の中、多...